काठमाडौं, ६ अगस्ट २०२६। ब्रड पिक हिमाल आरोहणका क्रममा दुःखद रूपमा ज्यान गुमाएका १० नेपाली वीर पर्वतारोहीहरूको सम्झना र सम्मानमा फुर्लिमा फाउन्डेशनको आयोजनामा काठमाडौंस्थित बौद्धनाथ स्तूप परिसरमा भावपूर्ण दीप प्रज्वलन श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
पर्वतारोहण क्षेत्रका व्यक्तित्वहरू, आफन्त, साथीभाइ, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्वयंसेवक तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा दिवंगत पर्वतारोहीहरूको साहस, समर्पण र राष्ट्रप्रतिको योगदानलाई उच्च सम्मानका साथ स्मरण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन, मौनधारण तथा सामूहिक श्रद्धाञ्जलीमार्फत पर्वतारोहणका क्रममा जीवन उत्सर्ग गरेका ती वीरहरूको स्मृतिमा सम्मान अर्पण गरेका थिए। वक्ताहरूले पर्वतारोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र जिम्मेवारीको प्रतीक भएको उल्लेख गर्दै दिवंगत पर्वतारोहीहरूले नेपालको पर्वतारोहण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाउन पुर्याएको योगदान सदैव स्मरणीय रहने बताएका थिए।

फुर्लिमा फाउन्डेशनले यस्ता श्रद्धाञ्जली कार्यक्रमहरूले दिवंगत पर्वतारोहीहरूको योगदानलाई सम्मान गर्नुका साथै भावी पुस्तालाई साहस, समर्पण र जिम्मेवार पर्वतारोहणप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र समर्थन प्रदान गर्नुहुने सम्पूर्ण महानुभाव, स्वयंसेवक, साझेदार संस्था, सञ्चारमाध्यम तथा शुभेच्छुकहरूप्रति फुर्लिमा फाउन्डेशनले हार्दिक आभार व्यक्त गरेको छ।
अन्त्यमा, फाउन्डेशनले ब्रड पिक दुर्घटनामा दिवंगत भएका सम्पूर्ण १० वीर पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको साहस, समर्पण र योगदान नेपाली पर्वतारोहणको इतिहासमा सधैं अमर रहने विश्वास व्यक्त गरेको छ।
