अगस्ट २३, २०२५ (शनिबार) का दिन न्युयोर्कस्थित सत्यनारायण मन्दिर, ७५-१५ वुडसाइड एभेन्यु, एल्महर्स्टमा Queens KTM लायन्स क्लबद्वारा भव्य तीज दर खाने कार्यक्रम सम्पन्न भयो। नेपालभन्दा टाढा भए पनि संस्कृतिप्रति गहिरो मोह र आस्थाले अमेरिकामा बसोबास गर्ने नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई एउटै मंचमा ल्याएको यो कार्यक्रम सबैका लागि सम्झनालायक रह्यो।

यस कार्यक्रममा हाम्रो लागि अझ विशेष पक्ष भनेको फुर्लिमा फाउन्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) मिङमा शेर्पाले कार्यक्रमका सञ्चालक (Emcee)को जिम्मेवारी सम्हाल्नु भयो। उहाँको आत्मीय प्रस्तुति, मिठा शब्द र सांस्कृतिक अभिव्यक्तिले सम्पूर्ण वातावरणलाई उत्साहमय बनायो।

संस्कृति र समुदायलाई जोड्ने कार्यक्रम
कार्यक्रमको सुरुवात नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट गरियो। त्यसपछि प्रमुख अतिथिद्वारा दियो प्रज्वलन गरी औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा विशेष अतिथि, सामुदायिक अगुवाहरू, महिलादेखि युवासम्म सबैको उत्साहजनक उपस्थिति देखिन्थ्यो। कार्यक्रमको स्वागत मन्तव्य रुपा शाह, उपाध्यक्ष, Queens KTM लायन्स क्लबले दिनुभयो। उहाँले क्लबको उद्देश्य, नेपाली संस्कृतिको संरक्षण र प्रवासी समुदायमा आपसी सहयोग र एकता प्रवर्द्धन गर्ने योगदानका बारेमा प्रकाश पार्नुभयो।
कार्यक्रममा विभिन्न सांस्कृतिक गतिविधिहरू समावेश थिए, जसमध्ये:
- सांस्कृतिक नृत्य प्रस्तुति
- गीत–संगीत कार्यक्रम
- मेहन्दीको महत्वसम्बन्धी प्रस्तुति
- सहभागितामूलक खेलकुद र मनोरञ्जनात्मक गतिविधि
सहभागीहरूले नाच्दै, गाउँदै र स्वादिष्ट दर खाँदै कार्यक्रमको आनन्द लिएका थिए।
तीज पर्वको महत्व झल्काउने सांस्कृतिक नृत्यहरू, रमाइलो गीत–संगीत, मेहन्दी तथा विभिन्न सहभागीमूलक गतिविधिहरूले कार्यक्रमलाई अझ आकर्षक बनायो। सहभागीहरूले नाच्दै, गाउँदै र स्वादिष्ट दर खाँदै आफ्नै देशको वातावरणको झल्को पाए।

नेपालीपन जगेर्नातर्फ योगदान
लायन्स क्लबजस्तै संस्था र समुदायको सक्रियताले प्रवासमा रहेका नेपालीलाई मात्र नभई नयाँ पुस्तामा समेत संस्कृतिको महत्व पुर्याइरहेको छ। यस कार्यक्रमले एकैपटक समाजसेवा, संस्कृतिको संरक्षण र आपसी एकतालाई सुदृढ बनाएको छ।
कार्यक्रमको अन्त्यमा शान्ति जिरेल, अध्यक्ष, Queens KTM लायन्स क्लबले धन्यवाद ज्ञापन र समापन मन्तव्य व्यक्त गर्नुभयो। उहाँले प्रायोजक, स्वयंसेवक, अतिथि र सहभागी सबैप्रति आभार व्यक्त गर्दै नेपाली समुदायलाई एकताबद्ध र सांस्कृतिक रूपमा सशक्त बनाउने क्लबको निरन्तर प्रयासको महत्वको चर्चा गर्नुभयो।
अमेरिकामा बसोबास गर्ने नेपालीहरूले यसरी तीजजस्ता पर्वलाई भव्यतापूर्वक मनाउनु केवल मनोरञ्जन मात्र नभई हाम्रो पहिचान, मौलिकता र आत्मीयताको जगेर्ना पनि हो। यसले हामीलाई जहाँ भए पनि आफ्नै संस्कृति र मूल्य–मान्यतामा गर्व गर्न प्रेरित गर्दछ।